के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

10 August 2012

Tamang, Sherpa, Bhote, Dolpo, Lhopa, Lhomee, Mugumpa and Hyolmo these all are one that is Tamang


   आदिवासी जनजाति महासंघले तामाङ जातिलाई सीमान्तीकृत समुहमा राखेको छ । जनगणना २०५८ अनुसार नेपालमा तामाङको संख्या १२ लाख ८२ हजार ३ सय ४ छ । तामाङलाई इतिहासकारले घोडामाथि सवार गर्ने सैनिकमा रुपमा परिभाषित गरेको पाइन्छ । हिमाली गाउँमा तामाङ भनेको हेर्दामा हिस्सी परेको र साइत हेरेर शुभकार्य गर्ने मानिस भनिन्छ ।

रसुवामा बस्नेहरु तामाङ नभएर तमाङ हुनुपर्ने तर्क राख्छन् । हिमाली तामाङ जातिको भाषिक शब्द उच्चारणमा आकारन्तको प्रयोक कम्ती हुन्छ । अन्य जिल्लाका भन्दा रसुवाका तामाङको भाषामा केही भिन्नता छ । उखान टुक्का, नस्तर, गीत, मानी, लामा तथा झाँक्रीले गर्ने धार्मिक काममा हिलामी बौद्ध धर्मको लामा लिपीमा उल्लेखित भाषा र बोलीचाली भने हिमाली तामाङ भाषामा गरिन्छ । यो रसुवाका तामाङ जातिको सामाजिक, सांस्कृतिक र भाषिक विशेषता हो ।

उहिले यो जातिलाई अन्यले भोटे, लामा वा तामाङ भनेर सम्बोधन गर्थे । उत्तरी दिशामा तिब्बत (भोट) पर्ने र भोट-बर्मेली समुदायमा पर्ने यो जातिको शारीरिक बनावट, धर्म, संस्कृति, सामाजिक परम्परा, वेशभूषा, भाषा तिब्बतसित मिल्दोजुल्दो भएकाले यस्तो भनेको हुनसक्छ । अहिले भोटे, लामा र तामाङ भिन्न जाति हुन् कि ? भन्ने धेरैलाई लाग्न थालेको छ । हो भोटे नितान्त अलग अर्थ बताउने शब्द हो । भोटे शब्दले मानिसको जाति नभएर राष्ट्रियता बताउँछ । यो शब्दले तिब्बतको नागरिक जनाउँछ । नेपालमा भने भोटे आदिवासी जनजातिको रुपमा सुचीकृत भइसकेको छ । लामा र तामाङ यी दुई शब्द तामाङ जातिसित सरोकार राख्ने पर्यायवाची हुन् । हिजोआज अन्य जातिका मानिसले पनि हिमाली धर्मको ज्ञान प्राप्त गर्न थालेकाले लामा (ज्ञानी, पुजारी) शब्दले तामाङबाहेकलाई पनि जनाउन थालेको छ । तामाङले अब उप्रान्त तामाङ मात्र लेख्नु राम्रो हुनेछ । बौद्धमार्गी तामाङ जातिमा आफ्नो नामको पछाडि लामा लेख्न थालेको लामो समय भएको छ । लामा भन्नसाथ तामाङ जाति भनेर बुझिन्छ । यसैगरी पूर्वमा बस्ने तामाङ श्यार्पा (शेर्पा) र पश्चिममा बस्नेलाई नुप्पा (नुप्रिपा) भनिन्छ । श्यार भनेको पूर्व र नुप भनेको पश्चिम हो । पूर्वेली (श्यार्पा, शेर्पा) र पश्चिमेली (नुप्पा, नुप्रिपा) भनेर छुट्टै जातिको रुपमा स्थापित भई आदिवासी जनजातिको रुपमा सूचीकृत भइसकेको छ । ल्होपा, ल्होमी (दक्षिणी), डोल्पो (डोल्पावासी), मुगुम्पा (मुगुवासी), ह्योल्मो (हेलम्बुवासी) ले पनि आदिवासी जनजातिको मान्यता पाइका छन् । तामाङ जातिलाई मूलत: दुई समुहमा बाँड्न सकिन्छ । एउटा हो, नाक छेड्ने, अर्को नाक नछेड्ने । नाक छेड्ने तामाङ जाति काठमाण्डौँ उपत्यका, यस वरपरका र केही तराईमा बसोबास गर्छन् । नाक नछेड्ने उच्च पहाड र हिमाली भेकमा बस्छन् । दुवैको वेशभूषा र भाषामा फरक भए पनि धर्म, कर्म र सामाजिक मान्यता एउटै छ । भौगोलिक एवं अन्य समुदायको प्रभावका कारण भिन्नझैँ देखिने नाक छेड्ने र नछेड्नेमा भिन्न नभएको प्रमाण तिनीहरुभित्रको थर, गोत्र (वंश) सोधेपछि थाहा हुन्छ ।

बेग्लाबेग्लै ठाउँमा एउटै थर, गोत्रलाई फरक शब्द प्रयोग गरिए पनि यिनीभित्र हाडनाता लाग्छ । तामाङ, शेर्पा र ह्योल्मो नामको अलक जातिमा सूचीकृत भए पनि आफ्नो वंशभित्र कुटुम्ब चलाउँन सकिँदैन । अरु जाति वा समुदायको वेशभूषा, भाषा, सामाजिक परम्परा, धर्म, संस्कृतिको बाहुल्यबाट प्रभावित हुनु र भौगोलिक बनावटबाट भाषिक, सांस्कृतिक, वेशभूषा आदिमा हुन गएको सामान्य भिन्नतालाई आधार मानेर एउटै तामाङ जाति भिन्न हुनु राम्रो होइन । विशेषगरी हिमाली भेकमा बसोबास गर्नेले आफ्नो स्वपहिचान खोज्दै छुट्टै आदिवासी जनजातिको रुपमा सुचीकरण गर्ने वा अन्य समूहमा मिसिन जाने हो भने स्वअस्तित्व खोजी गर्ने नाममा अस्तित्व नै गुमाउँन बेर छैन ।

बौद्ध धर्मको आध्यात्मिक पक्षबाट हेर्ने हो भने हाम्रो पुनर्जन्म हुन्छ । पुनर्जन्म र आफ्ना मृत पितृलाई शुद्ध पार्नु प्रत्येक बौद्धमार्गीको कर्तव्य हो । तिनै पितापुर्खाबाट प्राप्त जात, थर वा गोत्रलाई परिवर्तन गर्न खोज्यो भने के होला ? सम्बन्धित निकायले यसबारे व्यापक अनुसन्धान नगरी आदिवासी जनजातिको रुपमा सूचीकृत गर्दै जानु हुँदैन । यसो गरेमा आदिवासी जनजातिको सूचीक्रम ५९ मात्र होइन सयौँ नाघ्ला तर सदियौदेखि समुदायमा परिचित जाति भने लोप हुने वा अन्य समुदायमा विलय हुने खतरा रहिरहन्छ । चौरीगाईको दुधबाट बनाइने चीजको नाउँ ‘याक चीज’ राखेजस्तै बिडम्बना हुन जान्छ । (याक भाले जाति बुझाउँने हिमाली घरपाल्तु जनावर हो, याकले दुध दिदैन ।) जुनै पहिचान, भाषा, संस्कृति अंगीकार गरे पनि तामाङ आखिर तामाङ नै हुन्छ ।

हिमाली भेकमा बस्नेहरु संस्कृतिमा धनि भए पनि शैक्षिक र आर्थिक क्षेत्रमा कमजोर छन् । विभाजनको मूल कारण यही हो । अर्को कारण पहाड र मधेसमा बस्ने तामाङमा संस्कृतिमा एकरुपता नदेखिनु । यसो हुँदा साँच्चै हामी अर्कै जातिका हौँ कि ? भन्ने भ्रम परेको छ । लेखक, अनुसान्धनकर्ताहरुले भाषा, वेशभूषा, संस्कृतिलाई आधार मानेर टुक्रा लगाउँने कार्य गरे । मिडियाले पनि त्यसरी नै प्रचार गरे । तामाङ जातिलाई डम्फु र सेलो गीतमार्फत मात्र चिनाउँनु दुर्भाग्य थियो । हाम्रा मौलिक संस्कृतिमध्ये सीमित संस्कृतिको मात्र प्रचार गर्न सक्यौँ । क्षेत्रीय एवं भौगोलिक भिन्नताको आधारमा तामाङ जातिको पहिचान गर्न सकेनौँ । के टुङ्ना(डम्ङेन), पिवाङ, लिङ्पु(पुली), तामाङको मौलिक बाजा होइनन् ? नम्तर, मानी, क्षाङ्लु, याच्युङ, श्युङ्लु, शेलु, छेर्लु, क्षाम्लु, चोम्लु, थुलु, यावे तामाङका मौलिक गीत होइनन् ? के क्षुबा, बख्खु, आङ्दुङ, दोर्मो, बुरे सुक्रे, सेम्बु, छिरिङ किङ्कप, केनाम तामाङका मौलिक पहिरन होइनन् ? यति धेरै मौलिक चीज हुँदाहुँदै हामी किना अरु समुदायमा विलय हुने ? नेपाल र तिब्बत सीमानाको बीच भागलाई केन्द्रविन्दु मानेर चारैदिशाको आधारमा शेर्पा, ल्होमी, ल्होपा, नुप्रिपा भएका हुन् । त्यसैको अनुसरण गरेर डोल्पा, मुगुम्पा हुँदै ह्योल्मोबाट योल्मोपा जनजातिसमेत देखिन थालेको छ ।

                                                                                    (स्रोत:कान्तिपुर दैनिक/ लेखक: फुर्पा तामाङ)

Post a Comment